सिनेमा हल खोल्न सरकार सकारात्मक ः अध्यक्ष दाहाल

बुधबार, ०१ पुस २०७७, १२ : २१

काठमाडौं, कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकार सकारात्मक रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । अबको एक हप्ताभित्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्न सक्ने उनको विश्वास छ । चलचित्र विकास बोर्डको आग्रहमा सूचना तथा सूचना मन्त्रालयले सिनेमा हल खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।
 
मंगलवार फिल्म ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोस्टर र शिर्ष गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने( ‘जेठ २७ गते म चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा आएपछि असार १० गते सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई यथाशिघ्र फिल्म क्षेत्र खोइयोस् भनेर पत्र पठाएको थिएँ । त्यसपछि विभिन्न चरणमा फिल्म क्षेत्र खोल्न ढिला नगरौं भनेर मन्त्रालयलाई पत्र लेखेको थिएँ ।’
 
सिनेमा हल खुलेपछि अपनाउनु पर्ने मापदण्ड समेत चलचित्र विकास बोर्डले तयार गरेर सिसिएमसीलाई बुझाएको उनले बताए । सिसिएमसी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलगायत आवश्यक ठाउँमा चलचित्र विकास बोर्डले बुझाएको मोडालिटी स्वीकृत भइसकेको उनको भनाई छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्म सम्बन्धि गतिविधि सुचारु गर्न उनको आग्रह छ ।
 
सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिएपछि चलचित्र विकास बोर्डले गर्न सक्ने सहयोग सुरु हुने उनले बताए । उनले भने ‘फिल्म निर्माण गर्नेलाई बिमाको व्यवस्था, चलचित्र प्रदर्शन गर्नेलाई प्रचार(प्रसारका सामाग्री छपाईमा सहयोग, टेलिभिजन विज्ञापनमा विशेष छुट, सिनेमा घरलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा चाहिने सामाग्रीमा बोर्डले सक्ने सहयोग गर्नेछ’।

बुधबार, ०१ पुस २०७७, १२ : २१

प्रतिक्रिया