काठमाडौं– काठमाडौं महानगरपालिका गीत चोरी काण्डमा मुछिएको छ । महानगरपालिकाले भर्खरमात्र सार्वजनिक गरेको म्युजिक भिडियो ‘नमस्कार’को शब्द चोरी भएको रचनाकार नेत्र अर्यालले आरोप लगाएपछि महानगर गीत चोरी काण्डमा मुछिएको हो ।
महानगरपालिकाले आफ्नो प्रचारका लागि हिँजो (बिहीबार)मात्रै नमस्कार नामको गीत साई भिजन प्रालिबाट सार्वजनिक गरेको गीतको रचना अर्यालले गरेपनि भिडियोमा रचनाकार राजेश्वर ज्ञवालीको नाम राखिएको छ । ज्ञवाली काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।
प्राप्त जानकारी अनुसार अनुसार साई भिजनका सञ्चालक कलाकार प्रकाश भट्टको आग्रहमा गायक खेम सेञ्चुरीले अर्याललाई शब्द रचना गरिदिन आग्रह गरेका थिए । सोही अनुसार आफूले मंसिर १४ मा शब्द रचना गरेर दिएको भएपनि अहिले म्युजिक भिडियो सार्वजनिक हुँदा राजेश्वर ज्ञवालीको नाम देखेपछि आफू अन्यायमा परेको अर्यालले बताए। ‘मसँग खेम जीले काठमाडौं महानगरको जनचेतनामूलक गीत मागेपछि मंसिर १४ गते लेखेर दिएको थिएँ’, उनले भने, ‘अहिले म्युजिक भिडियो सार्वजनक भयो भनेर हेर्दा त रचनाकारमा अर्कैको नाम छ, अचम्म लाग्यो, म अन्यायमा परेँ ।’
उनले यस विषयमा आफूसँग गीत माग्ने गायक खेम सेञ्चुरी र साइभिजनका सञ्चालक गायक प्रकाश भट्टलाई जानकारी गराएको भएपनि अहिलेसम्म नाम सच्याइएको छैन । खेम जीले प्रकाश दाजुलाई सोध्नु भन्नुभयो, प्रकाश दाजुले चाहीँ म्युजिक भिडियोको विषयमा महानगरपालिका सँग समन्वय गर्ने विनोद केसी रहेकोले उनैलाई सोध्नुपर्छ भन्नुभयो,’ अर्यालले भने, ‘विनोद जीले कुनै रेस्पोन्स गर्नुहुन्न, अबस्था यस्तो छ।’
गायक सेन्चुरीका अनुसार गीतको परिकल्पना ज्ञवालीले गरेका हुन भने रचना अर्यालकै हो । सो विषयमा टिममा केही तालमेल नमिलेका कारण गीत सच्याएर राख्ने विषयमा छलफल भैरहेको उनको भनाई छ । ‘गीतको परिकल्पना ज्ञवाली सरले गर्नुभएको हो भने रचना नेत्र जी कै हो,’ उनले भने, ‘अहिले मिडियामा लेखिहाल्नु भन्दा पनि अप्ठ्यारो मान्न पर्दैन, आपसी सम्झौता गर्दैछौँ, सच्याएर राख्ने गरी छलफल भैरहेको छ।’
तर साई भिजनका सञ्चालक भट्टको भने कुरा अर्कै छ । उनका अनुसार गीतको रचनाकार राजेश्वर ज्ञवाली नै हुन् । यसको लाइन सबै ज्ञवालीको हो । गीति लयमा लैजाने काम भने अर्यालले गरेका हुन् । ‘ज्ञवाली सर गीतकार त होइन, गीति लयमा राख्ने कुरा भएन । त्यसको लागि नेत्रले सहयोग गरेको हो । थोरै तलमाथी मात्र गरेको हो’ उनले भने, ‘ उनले भने, ‘शब्द संयोजक भनेर नेत्रको नाम राख्न खोजेको हो । तर उहाँले नमानेपछि उहाँको नाम हटाएका हौँ ।’
तर अर्याल भने कसैले कुनै विषयवस्तु उपलब्ध गराउँदैमा, अबधारणा बनाउँदैमा गीतको रचनाकार हुन नसक्ने तर्क गर्छन । प्राप्त जानकारी अनुसार गीतको विषयमा महानगरसँग समन्वय गर्ने काम कलाकार विनोद केसीले गरेका हुन् । केसी र भट्टको मिलेमतोमा महानगरप्रमुखलाई खुसी पारेर अन्य कामहरु समेत हात पार्नका लागि यसो गरिएको हुनसक्ने उनीहरु निकटका कलाकार बताउँछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने गीत आफूले रचना गरेको दावी गरे ।
प्रतिक्रिया