‘वीर विक्रम २’ :  रिलिजको २४ घण्टामा फिल्मलाई १० लाख बढी भ्यूज

बुधबार, ०८ पुस २०७७, १५ : ०८

काठमाडौं, लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि यूट्युब प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन चुकेको थियो ।
 
पटकथा र प्रस्तुतीकरण कमजोर हुँदा फिल्मले ‘वीर विक्रम’ को साख जोगाउन सकेको थिएन । दुई साथीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्ममा पल र नाजिरसँगै वर्षा सिवाकोटी, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ । यूट्युब सार्वजनिक भएसँगै फिल्मलाई दर्शकको उल्लेख्य साथ मिलेको छ । तर, प्रतिक्रिया भने मिश्रित प्राप्त छ ।
 
यूट्युब रिलिजको २४ घण्टामा फिल्मलाई १० लाख बढी भ्यूज मिलेको छ भने ४६ हजार लाइक्स र ३ हजार बढी कमेन्ट प्राप्त छ । कमेन्टमा नाजिर हुसेन र बुद्धि तामाङको अभिनयको प्रशंसा गर्ने धेरै छन् । कतिले भने अभिनेता दयाहाङ राई नभएका कारण फिल्म राम्रो नलागेको प्रतिक्रिया जनाएका छन् । कथावस्तु र प्रस्तुतीकरण कमजोर रहेको प्रतिक्रिया पनि फिल्मले धेरै पाएको छ । 
 
४ वर्ष अगाडि प्रदर्शनमा आएको ‘वीर विक्रम’ को सिरिजको रुपमा निर्देशक चाम्सले  ‘वीर विक्रम २’ बनाएका थिए । पहिलो पार्टमा दयाहाङ राई, अनुपविक्रम शाही, नाजिर हुसेन, दीया पुन मुख्य भूमिकामा थिए । अहिले यो फिल्मको सिक्वेल बनाउने तयारी भइरहेको चर्चा छ । जहाँ ‘वीर विक्रम’ अन्त्य भएको थियो त्यहीँबाट सिक्वेल निर्माण गरिँदैछ । फिल्मको कथा तयार भइसकेको छ ।

बुधबार, ०८ पुस २०७७, १५ : ०८

प्रतिक्रिया