मलको अभाव बीच पनि  झन्डै ७१ हजार टनले बढ्यो धान उत्पादन

मंगलबार, १४ पुस २०७७, १० : ०९

काठमाडौं, देशमा यस वर्ष धान उत्पादन झन्डै ७१ हजार टनले बढेको छ । धानको मुख्य सिजनमा किसानले रासायनिक मल नपाए पनि अनकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा उत्पादकत्व भने बढेको हो ।

 यो वर्ष धानको उत्पादन ७० हजार ८३१ टनले वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो वर्ष उत्पादन बढेर ५६ लाख २१ हजार ७ सय १० पुगेकोे छ । गत वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो । यो वर्ष पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा बढी धान उत्पादन भएको मन्त्रालयले जनाएको 
 छ ।

यो वर्ष तुलनात्मक रूपले बढी क्षेत्रफलमा धान रोपाइँ भएको र चैते धानमा पनि बिस्तारै आकर्षण बढिरहेका कारण उत्पादन बढी भएको मन्त्रालयको भनाइ छ ।

 उन्नत बीउसँगै खेतियोग्य जमिनको क्षेत्रफल बढेकाले पनि धानको उत्पादन बढ्न गएको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेको भनाइ छ । यो वर्ष १२ जुनदेखि नै मनसुन सुरुवात भएकाले पनि धानको उत्पादन बढ्न गएको प्रवक्ता घिमिरेको भनाइ छ ।

यो वर्ष १४ हजार पाँच सय ५९ हेक्टर खेतियोग्य जमिनको क्षेत्रफल वृद्धि भई १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार धानको उत्पादन सबैभन्दा धेरै २ नम्बर प्रदेशमा १४ लाख ३२ हजार ८ सय १९ टन भएको छ । यस्तै दोस्रो स्थानमा प्रदेश १ मा १२ लाख ७५ हजार ५ सय ५४ टन उत्पादन भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४ सय ९७, बागमती प्रदेशमा ५ लाख ९ हजार ५ सय ९० टन उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ टन तथा कर्णाली प्रदेशमा १ लाख ३७ हजार १ सय ६५ टन उत्पादन भएको छ । सुदूरपश्चिम प्रदेशमा सवैभन्दा कम ६४ लाख ४ हजार ९ सय ९१ उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ । पर्याप्त सिँचाइको व्यवस्था नहुँदा विभिन्न ठाउँमा आकासे पानीको भरमा धान रोप्नुपर्ने बाध्यता छ ।

नेपालमा ६० मिटर उचाइको झापाको कचनकवलदेखि ३ हजार ५० मिटर उचाइको जुम्लाको छुमचौरसम्म धान खेती गरिन्छ । कृषिले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा करिब २७ प्रतिशत योगदान गरेको छ । त्यसमा करिब ७ प्रतिशत धानको योगदान छ । चालू आवमा कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर धेरै घटिरहेका बेला धान उत्पादन वृद्धिले केही राहत हुने अनुमान गरिएको छ । धानको उत्पादन बढे पनि चालू आवको पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको भन्सार विभागको तथ्यांक छ ।

 

 

मंगलबार, १४ पुस २०७७, १० : ०९

प्रतिक्रिया