चेक रिपब्लिकको ठहर 'रोनाल्डो सर्वाधिक गोलकर्ता होइनन्', को हुन् त सर्वाधिक गोलकर्ता ?

शुक्रबार, ०९ माघ २०७७, १५ : ०७

रोनाल्डोलाई  सर्वाधिक गोलकर्ताका रुपमा मान्न चेक रिपब्लिक फुटबल एशोसियसनले  अस्वीकार गरेको छ । देश र क्लबका लागि गरेर कुल ७ सय ६० गोल गरेका रोनाल्डोलाई विश्वकै सर्वकालिन गोलकर्ताका रुपमा धेरै सञ्चारमाध्यमहरुले प्रस्तुत गरेका थिए ।

चेक रिपब्लिक फुटबल एशोसियसनले जोसेफ विकान विश्वकै सर्वकालिन महान् गोलकर्ता रहेको दाबी गरेको छ । विकानले करियरमा ८ सय २१ गोल गरेको एशोसियसनको दाबी छ । यद्यपी, मिडिया रिपोर्टहरुले विकानले ७ सय ५९ गोल गरेको रिपोर्ट पेश गरेका थिए । उनीहरुका अनुसार यस सूचीमा ७ सय ५७ गोलसहित पेले तेस्रो स्थानमा छन् । ७ सय ४३ गोलसहित रोमारियो चौथो र ७ सय १९ गोलसहित लियोनेल मेस्सी पाँचौ स्थानमा रहेको समाचार अधिकांश सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

यद्यपी, १९३१ देखि १९५५ सम्म (यापिड भियना र स्लाभिया प्रागबाट खेलेका विकानको गोलसंख्यालाई अवमुल्यन गरिएको एशोसियसनको दाबी छ । रोनाल्डोले विकानको किर्तिमान तोड्नका लागि अझै ६२ गोल गर्नुपर्ने एशोसियसनले जनाएको छ ।

यस विषयमा चेक फुटबल एशोसियसनको इतिहास तथा तथ्याङ्क कमिटीले छानविन गरिरहेको छ र यसबारे जारोस्लाम कोलारले भने, ‘जोसेफ विकान वा क्रिष्टियानो रोनाल्डो रु सहज प्रश्न र कठिन जवाफ किनकी विकानका सम्पूर्ण गोलहरुमध्ये तपाईंहरुले केवल आधिकारीकलाई मात्रै छान्नुपर्ने हुन्छ, जो कठिन छ । चेक फुटबल एशोसियनसनको इतिहास तथा तथ्याङ्क कमिटीले यस समस्याको समाधान खोज्ने प्रयास थालेको छ ।’

कोलारका अनुसार अन्तर्राष्ट्रिय वेवसाइटहरु हेर्दा विकानले कुल ८ सय ५ गोल गरेको देखिन्छ र यसमा १९५२ को सिजन चेक दोस्रो डिभिजनमा राडेक क्रालोभका लागि उनले गरेका गोल समावेश छैनन् । ती, गोलको तथ्याङ्क हराइरहेको विषय वेवसाइटहरुले पनि उल्लेख गरेको कोलार बताउँछन् । ‘हामीले त्यो तथ्याङ्क फेला पारेका छौं र यो २६ खेलमा ५३ गोल हो । र, हामीले विकानले खेलेका लिग, कप र अन्तर्राष्ट्रिय खेलहरुलाई डबल चेक गरेका छौं र त्यसपछि आधिकारीक गोललाई मात्रै जोड्दा पनि कुल ८ सय २१ गोल हुन आएको देखिन्छ ।’

उनी थप्छन्,‘यसको अर्थ क्रिष्टियानो रोनाल्डो अझैसम्म इतिहासका उत्कृष्ट गोलकर्ता होइनन् र उनले यो कीर्तिमान तोड्नका लागि अझै मेहिनत गर्नुपर्छ ।’

यसअघि पेले र रोमारियो दुबैले करियरमा १ हजारभन्दा धेरै गोल गरेको दाबी गरेका थिए ।

गोल डटकम

शुक्रबार, ०९ माघ २०७७, १५ : ०७

प्रतिक्रिया