बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा बागमतीलाई ९४ रनले हराउदै आर्मी क्लव फाईनलमा प्रवेश गरेको होे ।
उपाधिका लागि शनिबार शसस्त्र प्रहरी एपीएफ र आर्मी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।आर्मीले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको बागमती ४० दशमलव २ ओभरमा ओभरमा १ सय ३५ रन जोड्दा अलआउट भयो।
खेलको सुरुवातमा नै लगातार विकेट गुमाएपछि बागमती दबाबमा आएको थियो। छैटौं विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ५८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए।
बागमती ७ दशमलव ४ ओभरमा ५ विकेट गुमाए १८ रन जोडेको स्थितीमा थियो। कप्तान ज्ञानेन्द्र मल्लले जोडेको ४७ रन नै बागमतिका लागि सर्वाधिक रह्यो। बिपिन आचार्यले २३, आदिल खानले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको छुन सकेनन्। नन्दन यादव २२ रनमा नटआउट रहे।
बागमतीलाई सस्तैमा समेट्न आर्मीका विक्रम शोबले आफ्नो स्पेलमा ५ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए। सुसन भारीले आफ्नो स्पेलमा १ मेडन राख्दै ३६ रन खर्चेर ३ विकेट झारे। जितेन्द्र मुखियाले ३ विकेट लिए।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमति प्रदेशले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा २ सय २९ रन जोड्दा अलआउट भयो।
सातौँ विकेटका लागि राजेश पुलामी र विक्रम शोबले ९२ रनको उत्कृष्ट साझेदारी गरेपछि आर्मी विशाल योगफलतर्फ उन्मुख भएको थियो। नन्दन यादवले विक्रम शोबलाई क्याच आउट गराएका थिए। ५८ बलको सामना गरेका सोबले ३ चौका हान्दै ३५ रन जोडे।
राजेश पुलामी ९१ बलमा ४ चौका र २ छक्का हान्दै ६५ रनको योगदान दिए।आर्मी एकसमय ७ दशमलव १ ओभरमा १७–३ को अवस्थामा थियो। सुरुवाती ७ ओभरमा नै ३ विकेटको गुमाएको आर्मी दबाब आएपनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका थिए।
चौथो विकेटका लागि भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। बागमतीका नन्दन यादवले लोकेश बमलाई पृथु बास्कोटाको हातबाट क्याच आउट गराउँदै यी दुईको साझेदारी तोडेका थिए। ३० बलको सामना गरेका बमले २ चौका र १ छक्का हान्दै २३ रन जोडे।
भिम सार्की ४० रन जोड्दा पवेलियन फर्के। ६१ बलको सामना गरेका भिमले ५ चौका र १ छक्का हाने। कप्तान विनोद भण्डारी १० रनमा आउट भए। सुसन भारीले १६, हरि चौहान ३, अनिल मण्डल २ रनमा आउट भए। रोहित पौडेल, शाहब आलम शुन्य रनमा पवेलियन फर्के।
बाग्मती प्रदेशका गौतम केसी एक्लैले ५ विकेट लिए। केसीले आफ्नो स्पेलमा १ मेडन राख्दै ६१ रन खर्चे।तिलक भण्डारी, नन्दन यादव, विपिन आचार्य र रामनरेश गिरीले एक एक विकेट झारे।
प्रतिक्रिया