रोनाल्डोले एकैपटक तोडे दुई नियम, प्रहरीले थाल्यो अनुसन्धान

शनिबार, १७ माघ २०७७, ०८ : ५६

एजेन्सी - इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । 

गत वर्ष इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोरोना नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । 

तर युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ । 

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ । 

युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ । 

रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । क्लबको नियमअनुसार दुई दिनको आराम गर्न दिइएको समयमै रोनाल्डो भाले डी आओस्टा रिसोर्टमा पुगेका हुन् । 

पत्रिकाका अनुसार रोनाल्डोको परिवार दुई दिन होटेलमा बसेका थिए ।
सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो । 

त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको बताइएका छ । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार चार सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ । 

शनिबार, १७ माघ २०७७, ०८ : ५६

प्रतिक्रिया