काठमाडौं - एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् ।
कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्चालित होमस्टे सेवाका सञ्चालकले बताए ।
गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होमस्टेमा ११ महिनापछि पर्यटकको चहलपहल शुरु भएको छ ।
कोभिड–१९ को महामारी नहुँदासम्म धेरैको रोजाइमा पर्दै आएको मोदी ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा माघको दोस्रो सातादेखि पर्यटकको चहलपहल शुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए ।
चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको उनले बताए ।
पोखरा र काठमाडौँबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङले बताए । कोरोना महामारीभन्दा अघिसम्म वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ ।
“कोभिड–१९ का बीचमा पनि हामीले होमस्टे खुला गरेका छौँ, अब पर्यटक आउनेक्रम शुरु भएको छ ।”, उनले भने, “विस्तारै पुरानै लयमा फर्कने विश्वास हामीले लिएका छौं ।”
चित्रेको होमस्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन ।
जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ ।
समितिका अनुसार चित्रेको होमस्टेमा एकपटकमा ७० जनासम्म राख्नसक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै कोठामा शौचालय जडित रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताए ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ ।
होमस्टे पुग्नासाथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।
चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसुदन अधिकारीले बताए ।
मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरकफरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारीसमेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।
उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेबास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, बालाकोट, लुङ्खु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।
अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतमा ४८ वटा होमस्टे विस्तारका लागि रु १० लाखका दरले अनुदानसमेत दिएको थियो ।
प्रतिक्रिया