एजेन्सी - ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग चार वर्षको सम्झौता गरेका छन् । उनले प्रति साता ६ लाख पाउन्ड पाउने भएका छन् ।
सम्झौतापछि नेमारले नयाँ प्रशिक्षक माउरिसिओ पोचेटिनोसँग सहकार्य गर्न आतुर रहेको बताइएको छ ।
पिएसजी र नेमारबीचको सम्झौतासँग सम्बन्धित थप कागजी प्रक्रिया अगाडि बढाइएको द डेलिमेलले जनाएको छ । यो सबै प्रक्रिया यसै साता पूरा हुने आरएमसीको रिपोर्टमा उल्लेख छ ।
पछिल्ला केही वर्ष अधिकांश समय चोटका कारण बेन्चमै बसेका नेमारले नयाँ सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन दिने बताएका छन् ।
गत साता ब्राजिलका पत्रकार मार्सेलो बेचलरले नेमार र पिएसजीसँगको सम्झौता हुन लागेको बताएका थिए । गत सिजनमा नेमारकै उत्कृष्ट प्रदर्शनमा पिएसजी इतिहासमै पहिलोपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
जसमा पिएसजी बायर्न म्युनिखसँग १–० ले पराजित भयो ।
प्रतिक्रिया