नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार

बुधबार, २८ माघ २०७७, १६ : ४४

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य विजयसिंह वैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सह सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।

समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यसमिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सह(सचिव पशुपतिदेव पाण्डे रहेका छन् ।


महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्त्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । त्यसका लागि समितिले महत्त्वपूर्ण विषयहरुमा सरोकारवाला निकायहरूसँग समेत सल्लाह सुझाव लिई सरकारसँग लबिइङ गर्न सुझाव दिए । “मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाइमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौतीलगायतमा समितिले आफूलाई विशेष रुपमा केन्द्रित गरी कार्य गर्न अनुरोध गर्छु,” उनले भने ।

यस्तै महासंघले वैदेशिक रोजगार फोरम पनि विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार गरेको हो । फोरमको सह सभापतिमा प्रज्ञान न्यौपाने छन् । फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्‍जय निरला, सञ्‍जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनीता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन् ।

 

बुधबार, २८ माघ २०७७, १६ : ४४

प्रतिक्रिया