५२ प्रतिशतले बढ्यो भन्सार राजस्व, आयतमा ३० प्रतिशत बृद्धि

सोमबार, ०३ फागुन २०७७, ०९ : ४२

काठमाडौं – गत माघ महिनामा भन्सार राजस्व ५२.७८ प्रतिशतले बढेको छ। गत महिना वस्तु आयात उच्च दरमा बढेसँगै भन्सार राजस्वमा बृद्धि भएको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सातौँ महिना (माघ)मा माघमा ४१ अर्ब ५९ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ। गत वर्ष २७ अर्ब २२ करोड रूपैयाँ मात्रै थियो। भन्सारमा दैनिक औसत १ अर्ब ३८ करोड रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। 

माघमा १ खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँको वस्तु आयात भएको छ। यो गतवर्षको तुलनामा ३०.७५ प्रतिशतले धेरै हो । गत वर्षको माघमा १ खर्ब ८ अर्ब ९० करोड रूपैयाँको वस्तु आयात भएको थियो। माघमा निर्यात १८ प्रतिशतले बढेको छ। 

भन्सार विभागका अनुसार माघमा मात्रै ९ अर्ब ११ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। जुन गत वर्षको यही महिनामा ७ अर्ब ६९ करोड रूपैयाँको मात्रै थियो।

आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्यांकमा भने आयात झिनो अंकले मात्रै बढेको छ। साउनदेखि माघसम्ममको एकीकृत तथ्यांकअनुसार आयात ०।००५ प्रतिशतले बढेको छ। निर्यातमा ७।६२ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै भन्सार राजस्व संकलन १४।९ प्रतिशत भएको विभागले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले पनि कोभिड–१९ को संक्रमण र प्रभाव कम हुँदै गएकाले आर्थिक क्रियाकलाप क्रमशः सामान्यीकरण हुन थालेका र आर्थिक क्रियाकलाप विस्तारसँगै कर्जा तथा आयात बढ्दै गएको जनाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यो विषयलाई उल्लेख गरेको हो। 

भन्सार विभागका महानिर्देशक सुमन दाहाल पनि आन्तरिक बजार चलायमान हुँदै जाँदा त्यसको दबाब आयातमा परेको बताउँछन्। ुकोभिड(१९ ले लामो समय शिथिल रहेको बजार चलायमान भएको छ, जसका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थ दुवैको आयात बढेको छ,ु दाहालले भने।

सोमबार, ०३ फागुन २०७७, ०९ : ४२

प्रतिक्रिया