शंकर, अम्बे र गोल्छा समूह मिलेर सिमेण्ट उद्योग स्थापना, गैडाछापको विकल्पमा पहिलाे राेजाइकाे सिमेण्ट बन्ने दावी

सोमबार, ०३ फागुन २०७७, १५ : ५९

काठमाडौं – ठूला औद्योगिक घराना शंकर, अम्बे र गोल्छा समूह मिलेर नयाँ सिमेण्ट उद्योग स्थापना गरेका छन् । 

सिरहाको कर्जन्हा नगरपालिकामा उनीहरुले १५ अर्ब लगानीमा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग स्थापना गरेका हुन् । 

उद्योगले माघ १९ गतेदेखि क्लिकंर उत्पादन गरिसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए। उनका अनुसार परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिन्हका लागि आवेदन दिइनेछ। उद्योगबाट ओपिसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुनेछ। 

उद्योगले उदयपुरको कटारीमा ५० वर्षलाई पुग्ने चुनढुंगा खानी पनि किनेको छ । उद्योग नजिकै खानी रहेकाले सौर्य सिमेण्टको उत्पादन लागत सस्तो पर्ने बताइएको छ।

सो उद्योगले गैडाछाप सिमेण्टकै ग्रेडको सिमेण्ट उत्पादन गर्ने कम्पनीको दावी छ । गैडाछाप अहिले उपभोक्ताको पहिलो रोजाइमा पर्ने सिमेण्ट हो । जुन  सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट उत्पादन हुन्छ । 

कम्पनीले सौर्यको जस्तो एकीकृत प्रविधियुक्त प्लान्ट नेपालमा रहेका अरु उद्योगमा अहिलेसम्म नरहेको दावी गरेको छ ।  डेनमार्कको एफएलएस स्मिथ प्लान्ट लगाइएको कम्पनीले
प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको जनाएको छ। 

उद्योगमा स्वचालित प्रयोगशाला छ, जसले उद्योगमा चुनढुंगा आउनेबितिकै त्यसको नमूना परीक्षण गर्छ । अहिलेसम्म नेपालका उद्योगमा रोटेक थ्री पियर क्लिन मात्रै रहेकोमा सौर्यले रोटेक टु पियर क्लिन रहेको जनाएको छ । 

उद्योग आफैंले ६ मेगावाट बिजुली उत्पादन गर्ने, सिमेन्टको बोरा स्वचालित रुपमै ट्रकमा लोड गर्ने र सिमेन्टको बोरा अल्ट्रासोनिक सिलिङ र लेमिनेटेड हुने कम्पनीले जनाएको छ । 

सोमबार, ०३ फागुन २०७७, १५ : ५९

प्रतिक्रिया