प्रेम प्रस्ताव राख्न र खुसी पार्न २ करोडको गुलाफ

सोमबार, ०३ फागुन २०७७, १७ : ४९

काठमाडौं। नेपाली युवायुवतीले करिब २ करोडको गुलाफ किनेर यो वर्ष आफ्ना प्रेमी प्रेमीका खुसी पारेका छन् । 

भ्यालेण्टाइन डे अर्थात् प्रणय दिवसको अबसरमा करिब २ लाख गोटा स्टिम (डाँठसहितको)  गुलाफ किनबेच भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । 

यो दिवस नेपाली परम्परागत संस्कृतिभित्र नपर्ने आयातित संस्कारको पर्व हो । यही आयातित संस्कार मनाउनका लागि २ करोड रुपैयाँ बाहिरिएको छ ।  यसमध्ये करिब एक करोड रुपैयाँको एक लाख ४० हजार स्टिम फूल भारतबाट आयात भएको हो । 

कोभिड–१९ का कारण यो वर्षको भ्यालेन्टाइन डेमा बजारमा माग घट्ने अनुमान गरेका कारण एसोसिएसनले यो वर्ष करिब एक लाख ५० हजार वटा स्टिम गुलाफ खपत हुने अनुमान गरेर भारतबाट आयात गरेको थियो । तर पछि नेपाली युवायुवतीले उल्लासमय तरिकाले भ्यालेण्टाइन मनाउँदै अत्यधिक मात्रामा गुलाफ किनेपछि ब्यापारीले एसोसिएसनले तोकेको भन्दा ५० रुपैयाँसम्म बढी मूल्य लिएका थिए । 

यो वर्ष सोचेभन्दा बढी फूलको कारोबार भएको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। उनका अनुसार गत वर्ष करिब २ करोड ५० लाख रुपैयाँको फूलको कारोबार भएको थियो।
 
यो वर्ष प्रति गुलाफ ८० देखि एक सय रुपैयाँसम्म मूल्य तोकेकोमा बजारमा पर्याप्त मात्रामा फूल नहुँदा ग्राहकले प्रति गुलाफ एक सय ५० रुपैयाँसम्म तिर्नुपरेको थियो।

नेपालमा कूल खपत भएको गुलाफमध्ये ६० प्रतिशत फूलको व्यापार काठमाडौं उपत्यकामा हुन्छ भने ४० प्रतिशत उपत्यका बाहिरका पोखरा, बिराटनगर र बुटवल लगायतमा हुन्छ। 
 
अहिले नेपालमा थोरै मात्र उत्पादन हुने भएकोले गुलाफको मूल्य महंगो छ । त्यो भन्दा कृत्रिम फूल सस्तोमा पाइने भएकाले अहिले धेरैले कृत्रिम फूल खरिद गर्न थालेका छन् । नेपालमा गुलाफ उत्पादन गरी  स्टिम फूलको प्रयोग बढाउन फ्लोरिकल्चर एसोसिएसनले व्यवसायिक रुपमा फूलको खेती गर्ने तयारी गरेको छ । 

सोमबार, ०३ फागुन २०७७, १७ : ४९

प्रतिक्रिया