एक वर्षमा ४ करोडको तरकारी उत्पादन, नगरपालिकाको डेढ करोड लगानी

बुधबार, १९ फागुन २०७७, १३ : ०९

उदयपुरको स्थानीय तहमा गरिबी निवारण गर्न तथा आर्थिक समृद्धि र रोजगार व्यवस्थापनको लागि उदयपुरको विभिन्न स्थानीय तहले पर्यटन, उद्योग, आदि योजना अगाडि बढाइरहेको बेला तीन स्थानीय तहले भने कृषि विकास र उत्पादनलाई विशेष जोड दिँदै उत्पादन वृद्धि गरेका छन् ।

ती स्थानीय तहमा बेलका, चौदण्डी र त्रियुगा नगरपालिका रहेका छन् । विगत दुई वर्ष देखिनै जिल्लाको बेलका नगरपालिकाले सबै भन्दा बढी कृषि उपज उत्पादनलाई जोड दिँदै हरियो तरकारी, मकैखेतीको उत्पादनमा जोड दिँदै आएपछि त्यसको उत्पादनमा अहिले वृद्धि भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

बेलकामा कृषि उत्पादनमा मुख्य त पाँच सय हेक्टर क्षेत्रफलमा हरियो तरकारी उत्पादन गर्दै आएको र यस आर्थिक वर्षबाट ७०० हेक्टरमा हरियो तरिकारी उत्पादनको लागि योजना अगाडि बढाएको प्रमुख थापाले बताए ।

एक वर्षभित्र बेलकाले रु चार करोड मूल्यको एक हजार ८०० टनसम्म तरकारी उत्पादन गरेको बेलका नगरपालिकाले जनाएको छ । कृषि उत्पादन वृद्धिको लागि नगरपालिकाले धान उत्पादन र मकै उत्पादनमा विशेष जोड दिँदै कृषकलाई निःशुल्क मल बीउसहित सबै जग्गामा अनिवार्य रुपमा धान र मकैखेती उत्पादनमा जोड दिएको नगरपालिकाले जनाएको छ ।

यसको लागि नगरपालिकाले पटकपटक गरेर रु डेढ करोडसमेत कृषिमा लगानी गरिसकेको प्रमुख थापा बताए। कृषिबाटनै नगरपालिकाको विकास र आर्थिक सम्भव रहेका कारण जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको छ  ।

चौदण्डी गढीले कृषिमा मुख्य गरेर अहिले चौदण्डी  कटुन्जे बेबला क्षेत्रको झण्डै ४०० हेक्टर क्षेत्रफलमा आलु उत्पादनमा जोड दिएको छ भने जिल्लाको सुन्दरपुर, हँडिया जोगिदह क्षेत्रमा धान र केरा खेतीमा जोड दिएको छ ।

गत वर्षसम्म २४० हेक्टरमा आलु खेती हुने गरेको नगर विस्तार गरेर ३०० हेक्टर भन्दा बढीमा ५० लाख लगानी गरेर आलु उत्पादन शुरु गरेपछि यस पटक चौदण्डीमा अहिलेसम्मकै धेरै आलु उत्पादन भएको र आलुमा उत्पादनमा नगर आत्मनिर्भर भएको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी बताउछिन्  ।

चौदण्डीमा अहिले केरा खेतीसमेत व्यापक विस्तार गरिएको नगरपालिकाले बताएको छ । दुई वर्ष अघिसम्म नगरपालिकाभित्र १९ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ  ।

त्रियुगा नगरपालिकामा दुई वर्षदेखि व्यापक कृषि विकास योजना अभियान शुरु भएको छ ।त्रियुगाले दुई वर्षदेखि नगरमा केरा र धान उत्पादनमा जोड दिएको छ । तीन हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको नगरपालिकामा दुई वर्षदेखि धानखेती विस्तार गरेर चार हजार हेक्टर पुगेको नगरपालिकाले बताएको छ ।

कृषकलाई कृषिमा प्रोत्साहन गर्न निःशुल्क मल बीउ वितरण र तालीम व्यवस्था र अन्य आर्थिक अनुदानसमेत सहयोग गरेर नगरपालिकाले सबै जग्गा उत्पादन कार्यमा लगाउने अभियान शुरु गरेको छ । जिल्लाको पाँच स्थानीय तहहरु कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले विशेषत पर्यटन, फलफुल जटीबुटी, साना घरेलु उद्योगमा जोड दिएर आर्थिक विकास गर्ने योजना अगाडि सारेका छन् । 


बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार अहिले तरकारी उत्पादनबाट बेलकामा दुई सय युवाले रोजगारी पाएको र वार्षिक करोडौंको तरकारी अन्यत्र बिक्री हुन थालेको छ  ।

बेलका नगरपालिका अहिले तरकारी र अन्नमा आत्मनिर्भर भएको पनि बेलका नगरपालिकाले बताएको छ । यस्तै चौदण्डी नगरपालिकाले पनि आलु र केरा उत्पादनमा राम्रो आम्दानी हासिल गर्न थालेको र सयौं कृषक आत्मनिर्भर र रोजगारी बनेको सो नगरपालिकाका प्रमुख राईले बताए ।

बुधबार, १९ फागुन २०७७, १३ : ०९

प्रतिक्रिया