यी हुन सबै भन्दा बढी निर्यात हुने नेपालको १० बस्तु, कुन बस्तुको कति निर्यात ?

३ बर्ष अगाडि

काठमाडौं –  चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट विभिन्न देशहरूमा निर्यात भएको ‘टप टेन’ बस्तु मध्ये सबभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भन्सार विभागको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
  
विभागका अनुसार समीक्षा अवधिमा भटमास तेलको १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको १३ करोड ११ लाख ३९ हजार ४१० केजी निर्यात भएको छ । जुन अन्य वस्तुहरूको तुलनामा बढी हो । 

गत वर्षको सोही अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँ बराबरको ४ करोड ५६ लाख ८९ हजार ५२७ केजी भटमासको तेल निर्यात भएको थियो । त्यो अनुसार यो बर्ष भटमासको तेल निर्यातमा २२९.४७ प्रतिशतले वृद्धि भएको हो । 

यस्तै, समीक्षा अवधिमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको २ करोड २६ लाख एक हजार ३६३ केजी सेन्थेटिक यार्न नेपालबाट विभिन्न देशमा निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष सेन्थेटिक यार्न १२.८४ प्रतिशतले घटेको छ । गत वर्ष ५ अर्ब १२ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख दुई हजार ९३६ केजी निर्यात भएको थियो ।
 
यस्तै, समीक्षा अवधीमा अलैँची निर्यात बढेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालबाट विभिन्न देशहरूमा ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार ३३३ केजी अलैँची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ६०५ केजी मात्र अलैँची निर्यात भएको थियो । यो ४८.७६ प्रतिशतले बढेको हो । 

यस्तै, माघ महिनासम्ममा ४ अर्ब १७ करोड रुपैयाँ बराबरको २ लाख ९४ हजार ९०६ ओटा उनी गलैँचा कार्पेट निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १७ करोड रुपैयाँ बराबरको २ लाख १६ हजार ५९९ ओटा निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष उनी गलैँचा कार्पेट निर्यातमा २.४६ प्रतिशतले घटेको हो ।
 
समीक्षा अवधिमा सबभन्दा धेरै निर्यात हुने बस्तु मध्ये एक तयारी कपडा पनि हो । समीक्षा अवधीमा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको ७० लाख ९७ हजार १८० ओटा तयारी कपडा नेपालबाट विभिन्न देशमा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको ७० लाख २४ हजार ७६ पिस तयारी कपडा निर्यात भएको थियो । 

गत वर्षको तुलनामा यो वर्ष तयारी पोसाकको निर्यात सङ्ख्याको आधारमा १.३५ प्रतिशतले बढे पनि रकमको आधारमा भने २.२२ प्रतिशतले घटेको भन्सार विभागबाट प्राप्त तथ्यांकले देखाएको छ ।

यस्तै समीक्षा अवधीमा नेपालबाट विभिन्न देशहरूमा सबभन्दा धेरै निर्यात भएको टप १० बस्तुमा चिया, चमोठको कपडा, जुटका बुनिएका कपडा, फलफूलको जुस र अन्य कपडाहरू रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।  

 

३ बर्ष अगाडि

प्रतिक्रिया