काठमाडौं – चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट विभिन्न देशमा १४ करोड ४८ लाख रुपैयाँ बराबरको चाँदीका गरगहना निर्यात भएको छ । भन्सार विभागको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार समीक्षा अवधिमा बिभिन्न १५ मुलुकमा १४ करोड ४८ लाख १० हजार बराबरको ३७७ केजी चाँदीको गरगहना निर्यात भएको हो ।
समीक्षा अवधीमा चाँदीको गरगहनाको निर्यात करिब १७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा १२ करोड ४७ लाख ५६ हजार यसको निर्यात भएको थियो । गत आवभरमा भने १६ करोड ८५ लाखको चाँदीका गरगहना निर्यात भएको थियो ।
नेपालबाट सबैभन्दा धेरै अमेरिकामा चाँदीका गरगहना निर्यात भएको छ । चालु आर्थिक वर्षको माघ महिना सम्ममा अमेरिकामा ८ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार ७७७ ग्राम र १ करोड ८ लाख ५८ हजार रुपैयाँ बराबरको ६९ केजी गरगहना निर्यात भएको छ ।
अष्ट्रेलियामा १ करोड २६ लाख ९६ हजार रुपैयाँ बराबरको ५२ हजार १८ ग्राम र २ लाख २१ हजार रुपैयाँ बराबरको ३ केजी चाँदीका गरगहना निर्यात भएको छ ।
त्यस्तै ८२ लाख ४३ हजार रुपैयाँ बराबरको १५ हजार ८२९ ग्राम र ८ लाख २३ हजार रुपैयाँ बराबरको ५ केजी गरगहना निर्यात भएको छ । फ्रान्समा नेपालबाट ६४ लाख १९ हजार रुपैयाँ बराबरको १५ हजार ८८९ ग्राम गरगहना निर्यात भएको छ ।
जर्मनमा ५६ लाख ३६ हजार रुपैयाँ बराबरको ७ हजार ६४ ग्राम र बेलायतमा १८ लाख ६७ हजार रुपैयाँ बराबरको ४ हजार ३४५ ग्राम चाँदीका गरगहना निर्यात भएको छ ।
यो सँगै बेल्जियम, क्यानडा, हङकङ, नेदरल्याण्डस्, पोर्चुगल, सिंगापुर, स्विडेन लगायतका देशहरूमा नेपालबाट चाँदीका गरगहना निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया