काठमाडौं - कोभिड–१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार १६६ ले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको थियो ।
सो कार्यक्रमको कार्यान्वयनका लागि व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई बिनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथम पटक सूचना प्रकाशन गरिएको थियो ।
वार्षिक रु ५० लाख वा सोभन्दा कम कारोवार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्न आह्वान गरिएकामा चार हजार १६६ ले निवेदन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले जानकारी दिए ।
उनका अनुसार विभिन्न क्षेत्रका व्यवसायीबाट थप समयको माग भएकाले पुनः आगामी चैत ६ गतेसम्म निवेदन दिने समय थप गरिएको हो । उहाँले प्रदेशका १८ वाणिज्य बैंकलाई राष्ट्र बैंकले छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको जानकारी दिए ।
प्रतिक्रिया