दूधबाट वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह

शनिबार, २९ फागुन २०७७, १० : ५३

काठमाडौं - नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । 

देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए । 

उनका अनुसार दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो । नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ । 

कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिए । सङ्घका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा रु ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् । 

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक रु पाँच करोड तथा वार्षिक रु १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ । 

नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको सङ्घका निर्वतमान अध्यक्ष इञ्जिनीयर अरनिको राजभण्डारीले जानकारी दिए । 


 

शनिबार, २९ फागुन २०७७, १० : ५३

प्रतिक्रिया