असिना पानीले २ करोडको इँटा नष्ट, बजारमा अभाव

शनिबार, २९ फागुन २०७७, १३ : ५२

काठमाडौं - नवलपुरमा असिना पानीका कारण करीब रु दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा रु एक करोड ८० बराबरको क्षति पुगेको छ । 

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिनुभयो । नवलपुरमा अहिले आठ  इँटा उद्योग सञ्चालनमा छन् । 

सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए । जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताए  । 

सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए । पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए । 

अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग सङ्घका अध्यक्षसमेत रहेका गौतमले बताए । बीमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।

पोल्नेको लागि तयार भएका इँटा पानीले नष्ट हँदा बजारमा इँटाको अभावसमेत हुने उनले बताए । यो समयमा इँटाको माग उच्च रहेका अवस्थामा पोल्नका लागि तयारी इँटा नष्ट हुँदा फेरि तयार गर्न समय लाग्ने उनले जानकारी दिए ।
 

शनिबार, २९ फागुन २०७७, १३ : ५२

प्रतिक्रिया