काठमाडौं - मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत्र २१ गतेदेखि २८ गने सम्म सञ्चालन हुँदै छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको १९औं संस्करणको लागि विदेशी एक सहित जम्मा आठ टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार, नेपाल एपिएफ क्लब, सङ्कटा क्लब, मछिन्द्र क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष केशबहादुर थापाले जनकारी दिएका छन् ।
यसैगरी विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यस वर्ष ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट एक जना राष्ट्रिय टोलीका खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगी स्व सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कार अर्पण गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
प्रतियोगिताको आकर्षकका रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ ।
प्रतियोगितामा अनुमानित रु एक करोड २९ लाख एक हजार आम्दानी भई सञ्चालनमा रु एक करोड एक लाख ८१ हजार खर्च हुने क्लबले जनाएको छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।
सहाराले क्याराभान गोल्ड कपसहित २० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।
हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् । वि.सं २०७० देखि उनीहरुले आवासीयरुपमा स्वास्थ्य, शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।
प्रतिक्रिया