नेपाल चेम्बर गल्फको उपाधि पूर्व सचिव कार्कीलाई

शनिबार, २१ चैत्र २०७७, १८ : ३९

पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् । 

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि हात पारेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।   

यस्तै महिलातर्फको उपाधि गीता गुरुङले जितिन्  । उनले ३८ स्कोर बनाईन्  भने रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन्  । सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जितेका छन् । सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने । 

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की रहे  । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जित । लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले जिते  । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे  । 

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो । 

‘नेपाल गल्फ पर्यटनको गन्तव्य’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए। उनले  गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए । 
प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले गल्फ लगायतका खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रबर्द्धनमार्फत् वैदेशिक मुद्रा आर्जन गर्न सक्ने र देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने बताए।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताएका छन् । थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटकहरू आकर्षित गरी ६ बिलियन अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उनले नेपालले यसबाट प्रेरणा लिन सक्ने बताए । नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए । 

शनिबार, २१ चैत्र २०७७, १८ : ३९

प्रतिक्रिया