काठमाडौं– शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो ।
१ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे । ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए ।
चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए । यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।
ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले । पुछारमा आएका कुरानले १५ बलमा ३४ रनको बिस्फोटक पाली खेले । उनले २ छक्का र ४ चौकाको मदतले सो रन बनाए । ओपनर फाफ डु प्लेसिसले शुन्य रनमा पेविलियन फर्कदा रुतुराज गाइवाड ५ रनमा आउट भएका थिए ।
दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिएका थिए ।
आईपीएलमा आज (आइतबार) सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।
प्रतिक्रिया