पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टि–२०मा ९ विकेटको शानदार जीत हासिल गरेको छ । कप्तान बाबर आजमले ५० बलमा शतक बनाएका बाबरले ११ चौका र ४ छक्का हानेका थिए ।
उनी १२२ रनमा आउट भए । विकेटकिपर मोहमद रिजवानले ७३ रन बनाएपछि पाहुना टोलीले २ सय ४ रनको विशाल लक्ष्य १२ बल बाँकी छँदै पछ्यायो । जीतसँगै पाकिस्तानले चार खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।
बुधबार मात्र एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरूको वरीयताको शीर्ष स्थानमा विराट कोहलीको १ हजार २५८ दिनको अधिपत्य अन्त्य गरेका बाबरको ४८ औँ इनिङमा यो पहिलो टी–२० शतक हो । पाकिस्तानका लागि यो सर्वाधिक छिटो शतक पनि हो । यसअघि अहमद शेहजादले सन् २०१४ मा बंगलादेशविरुद्ध ५८ बलमा शतक बनाएका थिए ।
यसअघि, एडियन मार्क्राम र जानेमन मालानले क्रमशः ६२ र ५५ रन बनाएपछि दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । अन्तिम खेल शुक्रबार आयोजना हुनेछ ।
प्रतिक्रिया