आईपिएल: राजस्थान रोयल्सको पहिलो जित

शुक्रबार, ०३ बैशाख २०७८, ११ : ५६

इन्डियन प्रिमियर लिग (आईपिएल)मा राजस्थान रोयल्स ३ विकेटले विजयी भएको छ । हिजो भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।  

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४७ रन बनायो । ओपन पृथ्वी सा दुई रन बनाएर पहिलो विकेटमा आउट भए त्यसपछि लगातार दिल्लीले विकेट गुमाएको थियो ।

अर्का ओपनर शिखर धवन पनि व्यक्तिगत नौं रन बनाएर आउट भए । अजिंक्या रहानेले  ८ रन बनाएर आउट भएका थिए ।

लगत्तै मार्कस स्टोनिस खाता नै नखोली आउट भएपछि दिल्ली दवाबमा आएको थियो । कप्तान ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका थिए ।

३२ बलमा ५१ रन बनाएका बेला पन्त रनआउटको शिकार भएका थिए । ललित यादवले २० रन बनाउँदा टम कुरानले २१ रनको योगदान गरे भने क्रिस वोक्स १५ रनमा नटआउट रहँदा कागिसो राबडाले ९ रन जोडे ।

रविचन्द्र आश्विन ७ रनमा रनआउट भएका थिए । जयदेव उनादकटले तीन विकेट लिँदा मुस्तिफिजुर रहेमानले दुई विकेट लिए ।

जवाफमा राजस्थान १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गर्न नसकेको राजस्थानले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर ४२ रन हुँदा पाँच विकेट झरेको थियो ।

१ सय ४ रन हुँदा सात विकेट खेर फालेको राजस्थानको जितमा डेविड मिलरले ६२ रन बनाए भने क्रिस मोरीसले ३६ रनको योगदान गरे । अरु खेलाडीले भने राम्रो खेल्न सकेनन् ।

बलिङमा दिल्लीको अभेस खानले तीन तथा क्रिस ओक्स र कागिसो राबाडाले दुई दुई विकेट लिए ।

 

शुक्रबार, ०३ बैशाख २०७८, ११ : ५६

प्रतिक्रिया