पारस खड्काले भोलि देखि हुने त्रिदेशीय टी–२० सिरिज नखेल्ने

शुक्रबार, ०३ बैशाख २०७८, १५ : ५२


राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा ब्याट्सम्यान पारस खड्काले  त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएका खड्काले नेपालमा भोली देखि हुने नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका हुन् ।

अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार खड्काको चोट निको हुन ३ सातासम्म लाग्नसक्नेछ । यससँगै नेपाली टोलीका अलराउन्डर खड्काले नेपालमै आयोजना हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने पक्का भएको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबारदेखि सुरु हुने यस प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डस्ससँग प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपाल र मलेसियाबीचको खेल हुनेछ ।

नेपालले नेदरल्यान्डसँगको दोस्रो खेल मंगलबार खेल्ने भने बिहीबार मलेसियासँग दोस्रोपटक भिडन्त हुनेछ ।

कोरोना भाइरस महामारीका कारण लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु ठप्प भएपछि तीनवटै देशमा क्रिकेट गतिविधि घटेको छ । यी तीनै देश महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागेका हुन् ।

शुक्रबार, ०३ बैशाख २०७८, १५ : ५२

प्रतिक्रिया