काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत आजको खेलमा नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो सवा एक बजेबाट सुरु हुँदै छ । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ ।
नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।
पहिलो खेलमा सहज जित निकालेको नेपाललाई आजको खेलमा पनि जित निकाल्ने मौका छ । यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ ।
नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ ।
नेपालका लागि आजको खेलमा पनि कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ सम्हाल्नेछन् । मध्य क्रममा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले साथ दिनेछन् ।
त्यस्तै बलिङतर्फ नेपालका सोमपाल कामी, अविनास बोहोरा, करण केसी र सन्दीप लामिछानेले सम्हाल्ने छन् । मलेसियाले नेपाललाई अन्तिम पटक २२ रनले पाराजित गरेको थियो ।
प्रतिक्रिया