आईपीएल: हैदरावाद र चेन्नईको जित, बैंगलोर र राजस्थान भिड्ने

विहीबार, ०९ बैशाख २०७८, ११ : ४३

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले जित हात पारेको छ । बुधबार भएको खेलमा  चेन्नईले कोलकाता नाइट राइडर्स १८ रनले पराजित गरेको हो  । २२१ रनको लक्ष्य पछ्याएको कोलकाताले २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै २०२ रन बनायो ।

 ३१ रनमै कोलकाताको आधा टीम पवेलियन फर्किएको थियो । तर दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकातालाई खेलमा जीवितै राखेका थिए । रसेलले २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनले तीन चौका र ६ छक्काको मद्दतले ५४ रन बनाए । यस्तै कार्तिकले ४० रन बनाए ।

यस अतिरिक्त पाट कमिन्सले शानदार पारी खेल्दै ६६ रन बनाए । उनले अन्तिमसम्म नै जितको सम्भावनालाई जीवित राखे पनि पुछारका ब्याट्सम्यानले साथ नदिएपछि कोलकाता पराजित हुन पुगेको हो । पुछारका चार ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।

यसअघि टस जितेको कोलकाताले पहिला फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको चेन्नईले प्रारम्भिक ब्याट्सम्यानद्वय ऋतुराज गायकवाड र फाफ डुप्लेसिसको शतकीय साझेदारीको मद्दतमा २२० रनको योगफल तयार पारेको थियो ।
कोलकाताविरुद्धको जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यस्तै हिजो नै भएको खेलमा हैदराबादद्वारा पन्जाब पराजित भएको छ । सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९।४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्रै बनाउन सक्यो । यसको जवाफमा हैदराबादले १८।४ ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएर खेल जितेको थियो ।

यो जितसँगै हैदराबाद अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ । पन्जाब भने आठौं स्थानमा झरेको छ ।


यस्तै आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल राती ८ बजेबाट सुरु हुनेछ । 

विहीबार, ०९ बैशाख २०७८, ११ : ४३

प्रतिक्रिया