बार्सिलोनाको शानदार जित, मेस्सीको उत्कृष्ट प्रदर्शन

शुक्रबार, १० बैशाख २०७८, ०८ : ४२

काठमाडौं - कप्तान लियोनेल मेस्सीले २ गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।

बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउने क्रममा मेस्सीले खेलको आठौँ मिनेटमा गोल गरेका थिए । खेलको १२औँ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि २८औँ मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो । खेलको ३३औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए ।

यस्तै, ६९औँ मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३–२ को स्थितिमा आयो । खेलको ८७औँ मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४–२ ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए । जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ ।

बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । 
 

शुक्रबार, १० बैशाख २०७८, ०८ : ४२

प्रतिक्रिया