काठमाडौ - कतारले नेपालसहित दक्षिण एशियाका पाँच र फिलिपिन्सबाट जाने यात्रुलाई अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको हो ।
कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट जाने यात्रुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । यी मुलुकहरुलाई ट्रान्जिट बनाएर कतार पुग्नेहरु पनि क्वारेन्टिनमा बस्नु पर्ने छ । कतारमा अनिवार्य क्वारेन्टिन १० दिन तोकिएको छ ।
यो नियम बिहीबार विहान १२ बजेबाट लागू हुने छ । होटल खर्च यात्रु आफैंले व्यहोर्नुपर्ने छ । घरमै क्वारेन्टिन बस्ने सुविधा यी ६ वटा मुलुकहरुबाट जानेलाई नदिइने कतारको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । ६ मुलुकबाट जाने यात्रुले कोरोना खोप लगाइसकेको भएपनि दश दिन क्वारेन्टिन वा १४ दिन मैकनेस सेन्टरमा बस्नुपर्ने बताइएको छ ।
यसअघि दुई डोज खोप लगाएका विदेशीले त्यसको १४ दिनदेखि ६ महिना कतार प्रवेश गरेको भए पीसिआर परीक्षण गरेमात्र पुग्ने व्यवस्था थियो । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुले ४८ घण्टाभित्र पीसीआर परीक्षण गराएको र नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।
प्रतिक्रिया