काठमाडौं - आजबाट सुरु भएको दुई साता लामो निषेधाज्ञाका क्रममा वैदशिक रोजगारको काम आंशिकरुपमा सञ्चालन हुने भएको छ ।
निषेधाज्ञाको अवधिमा वैदेशिक रोजगारमा जाने कामदारले विदेश जाने भिसा र टिकट देखाएमा त्रिभुवन विमानस्थलसम्म सहजरुपमा जान पाउने छन् । श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागले आलोपालो प्रणालीका आधारमा कर्मचारी खटाएर भएपनि सेवा नियमित गर्ने भएको छ ।
विभागले विभाग र विभाग माताहतका कार्यालयबाट श्रम स्वीकृतिका काम सुचारु रहने जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कार्यालय खुला राखी सकेसम्म सेवा प्रवाह गर्ने जनाएको छ ।
कन्सुलर सेवा विभागले वैदेशिक रोजगार प्रयोजनको लागि गर्नुपर्ने प्रमाणीकरण कार्य सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा गरिदिने जनाएको छ । गत मंगलबारबाट अत्यावश्यक सेवा मात्र प्रवाह गरेका कार्यालयले वैदेशिक रोजगारका हकमा व्यवसायीमार्फत काजगात प्रमाणीकरण गर्न सकिने बताइएको छ ।
विभागले एक सूचना जारी गर्दै सेवाग्राहीले इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गरिने जनाएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको कन्सुलर शाखाबाट वैदेशिक रोजगारीमा जाने कामदारको चालचलन सम्बन्धी प्रहरी रिपोर्टलगायत अन्य सरकारी कागजातहरु प्रमाणीकरण गराउँदै आएका छन् ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव ढुवानी यथावतरुपमा संचालन हुने बताएको छ । यस बीचमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर अभिमुखीकरण तालिम सञ्चालन गरिने बताइएको छ ।
प्रतिक्रिया