गणेश तिमिल्सिनाको राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी

६ बर्ष अगाडि

काठमाडौं–सत्तारुढ नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । 
सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उनले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् । 
प्रदेश नम्बर ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका एमाले पोलिटव्यूरो सदस्य तिमिल्सिनालाई राष्ट्रिय सभाका अध्यक्षमा उम्मेदवार बनाउन एमालेका सांसद खिमलाल भट्टराई प्रस्तावक रहेका छन्  भने माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा र एमालेका सांसद सुमनराज प्याकुरेल समर्थक रहेका छन् । 
 बुधबार अपरान्ह १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने संघीय संसद सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । 
 तिमिल्सिनाको मात्रै उम्मेदवारी परेकाले निर्वाचनमा मत विभाजन गरिरहन नपर्ने कानुनी व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ । बामगठबन्धनको तर्फबाट राष्ट्रिय सभाको अध्यक्षमा तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दिएका  तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्ष, सत्तापक्ष सबैको साझा र मर्यादित थलोको रुपमा स्थापित गराउन कुशल नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरे । 
राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार आगामी बुधबार अपरान्ह १ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । निर्वाचनमा ३ जना सांसदहरुले भने मतदान गर्न पाउने छैनन् । मतदाता नामावली सार्वजनिक भईसकेपछि सपथ लिएका राष्ट्रिय सभाका मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले मतदान गर्न नपाउने कानुनी व्यवस्था रहेको पनि संसद सचिवालयले स्पष्ट पारेको छ । ५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यक्षको निर्वाचनमा ५६ जनाले मात्रै मतदान गर्नेछन ।

६ बर्ष अगाडि

प्रतिक्रिया