वैदेशिक रोजगारमाथि पुनः संकट, गत वर्षको तुलनामा करिब ७४.८ प्रतिशत गिरावट

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा तीव्ररुपमा फैलिरहेको दोेस्रो लहरको कारोना भाइरस संक्रमणले वैदेशिक रोजगारमाथि पुनः संकट निम्त्याउने देखाएको छ । 

नेपालमा संक्रमण तीव्ररुपमा बढिरहेको बेला अन एराइभल भिसा प्रदान गर्दै आएको सिंगापुरले आइतबारदेखि नै लागू हुने गरी नेपालीलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी रोक लगाएको छ । 

कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या निरन्तर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा करिब ७४.८ प्रतिशत गिरावट आएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले पछिल्लो एक वर्षको अवधिमा रोजगारी गुमाएका चार लाख ५० हजार ९ सय ५७ जना नेपाली कामदार स्वदेश फर्किएको बताएको छ । त्यसमा सबैभन्दा बढी नेपालका प्रमुख रोजगार गन्तव्य मानिँदै आएका कतार र यूएईमा रोजगारीमा गएका नेपाली कामदार रहेका छन् ।

मलेसिया नेपालीको आकर्षक रोजगार गन्तव्यको रुपमा रहँदै आएको छ । तर लामो समयदेखि उक्त मुलुकमा अन्य देशकासँगै नेपाली कामदार रोजगारीका लागि जान पाएका छैनन् । स्थिति नियन्त्रणमा आए आगामी जुनबाट विदेशी कामदारका लागि ढोका खुल्ने अपेक्षा गरिएको मलेसियामा पनि संक्रमण रोकिएको छैन ।

मलेसियामा बढेको संक्रमणको दरले जुनमा नयाँ रोजगारी खुल्ने सम्भावना देखिएको छैन । नेपालीहरुले मलेसियाको नयाँ रोजगारीका बारेमा तीव्ररुपमा चासो राखिरहेका छन् । तर  क्वालालम्पुरस्थित नेपाली दूतावासले नयाँ कामदारको डिमाण्ड एप्रुभलको कुनै संकेत पाउन नसकिएको बताएको छ । 

क्वारेन्टिनमा बस्नुपर्ने वाध्यताका कारण संक्रमणका बीच रोजगारीमा जाने नेपाली कामदारहरुको पनि लगानी बढेको छ । नेपाली कामदारहरु आफ्नै खर्चमा कम्तीमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने भएकाले लागत बढेको हो ।

खाडी र मलेसिया र सरकारले भाषा परिक्षा उत्तिर्ण गरेका युवाहरुलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने विषयमा कुटनीतिक क्षमता देखाउन नसक्दा दश हजार बढी रोजगार आकांक्षी युवाहरु राजधानीमा अलपत्र परेका छन् । दक्षिण कोरियाले पनि २०७६ फागुनबाट नेपाली कामदार रोकेको छ ।

सरकारले राजधानीमा लगाएको निषेधाज्ञा आदेशको अवस्थामा वैदेशिक रोजगारमा जाने नरोकिने बताएको छ । तर निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जान काठमाडौं आउनु पर्ने कामदार रोकिएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

आइतबार नेपालमा ७ हजार २ सय ११ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो साताको तुलनामा संक्रमितको संख्या करिब १ सय ३७ प्रतिशत बढेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया