माग घटेपछि तरकारीको मूल्यमा व्यापक कमी, सस्तियो आधा

२ बर्ष अगाडि

काठमाडौं - सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ । यो सँगैउपत्यकामा बसोवास गर्ने धेरै मानिस आफ्नो जन्मथलो गाउँ फर्किए । मानिसको चाप घटेसँगै दैनिक उपभोग्य वस्तुको माग पनि घटेपछि तरकारीको मूल्यमा भने व्यापक कमी आएको छ ।

करिब १० दिनअघि र अहिलेको मूल्य अन्तर हेर्ने हो भने अधिकांश तरकारीको मूल्यमा करिब करिब आधा मूल्यले कमी आएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको मूल्यमा थोक बजारमा कमी आएको भए पनि उपभोक्ताको भान्सामा पुग्ने समयमा भने त्यति धेरै परिवर्तन भएको पाइएको छैन ।

लकडाउनअघि कालीमाटीमा प्रतिकिलो ६५ रुपैयाँ रहेको काउलीको थोक मूल्य घटेर अहिले २२ रुपैयाँमा आएको छ । वैशाख ११ गते कालीमाटी थोक बजारको मूल्यअनुसार काउलीको मूल्य औसतमा प्रतिकिलो ६५ रुपैयाँ रहेको थियो जबकि हालको औसत मूल्य प्रतिकिलो २२ रुपैयाँ मात्रै छ ।

त्यसैगरी वैशाख ११ गते ५५ रुपैयाँ प्रतिकिलो रहेको घिरौँलाको थोक मूल्य अहिले २० रुपैयाँ प्रतिकिलो रहेको छ । कालीमाटीमा ५५ रुपैयाँ नै रहेको चिचिण्डोको प्रतिकिलो मूल्य अहिले २५ रुपैयाँ रहेको छ भने २१० रुपैयाँ प्रतिकिलो रहेको च्याउ अहिले १३० रुपैयाँमै पाइन थालेको छ । ३२५ प्रतिकिलो रहेको डल्ले च्याउको मूल्य अहिले २७० रुपैयाँ रहेको छ ।

त्यस्तै ८५ रुपैयाँ प्रतिकिलो रहेको ब्रोकाउलीको मूल्य अहिले ५५ रुपैयाँमा झरेको छ भने ५५ रुपैयाँ रहेको हरियो फर्सी अहिले प्रतिकिलो २५ रुपैयाँमै पाइन्छ । ५५ रुपैयाँ प्रतिकिलो रहेको भिण्डीको मूल्य अहिले ३५ रुपैयाँमा झरेको छ भने ५५ रुपैयाँ नै रहेको सेतो मूला अहिले २५ रुपैयाँमै पाइन्छ । ३५ रुपैयाँ रहेको लौका अहिले १८ रुपैयाँमै पाइन थालेको छ भने प्रतिकिलो ११५ रुपैयाँ पर्ने घिउसिमी अहिले ३५ रुपैयाँमै झरेको छ । घिउसिमीको मूल्य एक किलोमै ८० रुपैयाँले कमी आएको छ ।

दैनिक उपभोग्य तरकारीको मूल्यमा व्यापक गिरावट आएको भए पनि प्याज र आलुको मूल्यमा भने सामान्य वृद्धि भएको छ । पहिले ३२ रुपैयाँ प्रतिकिलोको दरले पाइने नेपाली रातो आलुको मूल्य अहिले ४३ रुपैयाँ पुगेको छ । कालीमाटीको खुद्रा तरकारी बजारमा पनि रातो आलुको मूल्य पहिले ४० रुपैयाँ रहेकामा अहिले ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी प्याजको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । पहिले प्रतिकिलो ३८ रुपैयाँमा पाइने प्याजको थोक मूल्य अहिले ४१ रुपैयाँ पुगेको छ भने कालीमाटीकै खुद्रा बजारमा सुकेको प्याजको मूल्य पहिले ४० रुपैयाँ रहेकामा अहिले प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।

खुद्रा पसलमा दुई गुणासम्म महँगो
कालीमाटीको थोक तरकारीको मूल्य र उपभोक्ताले पसलबाट किन्ने खुद्रा मूल्यको अन्तर हेर्ने हो भने केहीकेही तरकारीमा खुद्रा व्यापारीले ३०० प्रतिशतभन्दा बढी नाफा खाएका छन् ।

कालीमाटीको थोक बजारमा २२ रुपैयाँमा पाइरहेको काउली उपभोक्ताले ८० रुपैयाँसम्म हालेर किन्नुपरेको छ । वृद्धिको प्रतिशत हेर्ने हो भने यो ३ सय ६० प्रतिशत महँगो देखिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया