कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका ४ लाख ५३ हजार बढि नेपाली कामदारले गुमाए रोजगार, कुन देशमा कति ?

३ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस महामारीको कारण बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् । 

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना नेपाली रोजगार गुमाएर स्वदेश फर्किएका हुन् ।

केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स ९यूएई०बाट एक लाख ४० हजार २१६ जनाले रोजगारी गुमाएर स्वदेश फकिएका छन् । यस्तै सो अवधिमा कतारबाट रोजगारी गुमाएर फर्किनेको सङ्ख्या एक लाख पाँच हजार ७७४ रहेको छ ।

मलेसियाबाट ४८ हजार ४३५ जनाले रोजगारी गुमाएर फर्किए । साथै साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

त्यसैगरी सिङ्गापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ३७६ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना सो अवधिमा फर्किएका छन् । बङ्गलादेशबाट दुई हजार ५९५, बहराइनबाट एक हजार ३५५, अस्ट्रेलियाबाट एक हजार २४४ र माल्दिभ्सबाट एक हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण रोजगारी गुमाएर स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया