वैदेशिक रोजगारीमा गएका कामदार स्वदेशमै ठगिदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पुग्न २२ हजार भाडा !

२ बर्ष अगाडि

काठमाडौं - कोरोना महामारीका कारण समस्यामा परी वैदेशिक रोजगारीमा गएका कामदार सरकारले घर पुग्ने सवारी साधानको उचित प्रवन्ध नगर्दा स्वदेशमै ठगिने अवस्थामा पुगेका छन् । 

सरकारले शुरुमा निषेधाज्ञाको समयमा साझा यातायात सञ्चालन गरेर वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुलाई सहजरुपमा घर–घर पुर्‍याइदिने बताए पनि कोरोना भाइरसको संक्रमण तीव्ररुपमा विस्तार भएको भन्दै साझा बस सञ्चालनमा रोक लगाइएको छ । 

सोही कारण विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका कामदारहरु काठमाडौंबाट आफ्नो निवाससम्म पुग्न महँगो भाडामा ट्याक्सी रिजर्भ गर्न बाध्य भएका हुन् । बुधबार अवुधावीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका सप्तरीका राम विनय अवुधावीबाट उड्नेबेला साझा बसले लैजाने भन्ने सुनेको तर विमानस्थल आइपुगेपछि साझा बसेले सेवा नदिएपछि अलपत्र अवस्थामा पुगेको बताए ।

राजविराजसम्म पुग्न ट्याक्सीले २२ हजार रुपैयाँ भाडा मागेको भन्दै उनले भने, ‘कतारबाट आउनु भन्दा काठमाडौंबाट घर जान महँगो भयो । एक महिनाको तलव ट्याक्सी भाडामा खर्च गर्नुपर्ने अवस्था देखियो । कोही उता जाने मान्छे छ कि भनी खोजी गरिरहेको छु, ट्याक्सीवालाले तीन जनासम्म भए २५ हजारमा लैजान्छु भनेको छ ।’

उनले आफुले विमानस्थलमा आएर साझा बसको फेसबुक पेजमा राखिएको ९८६३०२१०५५ र ९८४९२४३६९८ मा सम्पर्क गरेको तर सरकारले बस चलाउन रोक लगाएका कारण बस नचल्ने जवाफ पाएपछि महँगो भएपनि ट्याक्सी रिजर्भ गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘काठमाडौंमा रोकिने अवस्था पनि छैन ।’

सरकारले निषेधाज्ञाको आदेश जारी गरे लगत्तै नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबूस्थित नयाँ बसपार्क सुनसान बनेको छ । सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै गत वैशाख १६ देखि सार्वजनिक सवारी साधन बन्द छ भने सोमबारबाट आन्तरिक उडान पनि रोकिएका छन् ।
लामो दुरीका बस र आन्तरिक उडान रोकिएपछि विदेशबाट आएका विपन्न अवस्थाका कामदारहरुलाई घर पुग्न महँगोमा ट्याक्सी रिजर्भ गर्नुको विकल्प देखिएको छैन । सरकारले अनुगमन गरेर मनपरी भाडा असुल्नेलाई कारबाही नगर्दा ट्याक्सीवालाहरुले मौकाको फाइदा उठाइरहको विनयले दुखेसो पोखे ।

स्वदेश फर्किने कामदारहरुले स्वदेश फर्किनु ७२ घण्टाअघि पीसीआर चेक गराउने गरेका छन् । तर विमानस्थलमा ओर्लिएपछि पुनः पीसीआर चेक गराउन दबाब दिने गरिएको अवुधावीबाट राम विनयसँगै त्रिभुवन विमानस्थल ओर्लिएका दाङका नरेन्द्र बिसीले गुनासो गरे ।

 हाल वैदेशिक रोजगारमा जानेभन्दा फर्किनेको संख्या बढी छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले विदेशिने श्रमिक घट्दा विदेशमा करार अवधि सकेर फर्किने क्रम नियमित बनेको छ । सरकारले वैशाख २३ गते अर्थात आजदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयसँगै करार अवधि सकेर वैदेशिक रोजगारीबाट फर्किने चप बढेको बताइएको छ । मध्यान्ह बाट

२ बर्ष अगाडि

प्रतिक्रिया