१२८ कम्पनी मध्ये ग्राहकलाई इन्टरनेट स्पीडको जानकारी दिनेमा ८ मात्रै, ५ लाख सम्म जरिवानाको तयारी

२ बर्ष अगाडि

काठमाडौं - ग्राहकले कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त गरिरहेको छ भन्ने विषयमा हालसम्म अनुमति प्राप्त १२८ सेवा प्रदायक मध्ये ८ कम्पनीले मात्र जानकारी उपलब्ध गराएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म ८ कम्पनीले मात्रै ग्राहकलाई आफ्नो इन्टरनेटको गतिबारे जानकारी लिन सहज माध्यम उपलब्ध गराएका हुन ।

जसमा भायानेट, सुबिसु, क्लासिक टेक, हिमालयन अनलाइन सर्भिस, ब्रोडब्याण्ड सोलुसन्स, सस्टेनेबल नेटवर्क, आई–जोन र एलिसा कम्युनिकेसन रहेका छन् ।

यी बाहेकका अन्य इन्टरनेट सेवाप्रदायकले हालसम्म कुनै जानकारी उपलब्ध नगराएको प्राधिकरणले जनाएको छ । पछिल्लो समय इन्टरनेट स्पीडको विषयमा उपभोक्ताबाट धेरै गुनासो आउन थालेसँगै प्राधिकरणले सेवाप्रदायकले अनिवार्य रुपमा ब्याण्डविथको विषयमा जानकारी उपलब्ध गराउन निर्देशन जारी गरेको थियो ।

इन्टरनेट सेवाप्रदायकहरूले आफ्ना ग्राहकलाई भनेअनुसारको इन्टरनेट स्पीड नदिएको गुनासो निरन्तर बढ्दै गएपछि प्राधिकरणले यसअघि निर्देशन दिएर इन्टरनेटको गतिबारे जानकारी उपलब्ध गराउन भनेको थियो ।

त्यसरी निर्देशन दिएको एक वर्ष बितिसकेको छ । उक्त कम्पनीहरूलाई अन्तिम मौकाको रुपमा एकपटक पत्र पठाएर र पनि बेवास्ता गरे कारबाहीक प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।  

यसरी नियामकको निर्देशन अवज्ञा गर्ने सेवाप्रदायकलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया