यसरी भयो विमान दुर्घटना

६ बर्ष अगाडि

काठमाडौं, २९ फागुन-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

 

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास-८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटना भएको हो । विमानमा पाइलट, को-पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए ।

 क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार यूएस बंगला विमानको डास-८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो । विमान अवतरण क्रममा एउटा टायरले धावनमार्ग र अर्को टायरले घाँसेमैदान टेकेको देखिन्छ । विमान असन्तुलन भएर धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको हो ।

 

विमानस्थलको टावर कन्ट्रोल रुम र विमान चालकबीच नियमित सम्पर्क भइरहेको थियो । कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको ‘रन वे जिरो टु’ मा अवतरण गर्न अनुमति दिएको थियो । तर, जहाज दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाइलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो । पाइलटले ‘आइएम गुड, नो प्रोब्लम’ भनिरहेका थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर ‘रन वे’ खाली गराइसकेको थियो ।

 

कन्ट्रोल रुमले लगत्तै पाइलटलाई उत्तर-दक्षिण दुवैतर्फबाट विमान अवतरण गराउन अनुमति दियो । त्यो समयसम्म पनि पाइलटले कुनै इमरजेन्सी आवश्यक नरहेको बताइरहेका थिए । तर, कन्ट्रोल रुमले जहाजमा कुनै समस्या भएको हुन सक्ने भन्दै सावधानी अपनाएको थियो । अन्ततः पाइलटले जहाज उत्तरतर्फको ‘टु जिरो’ बाट अवतरण गराए ।

 

विमानको एउटा चक्काले ‘रन वे’मा टच गरेको थियो । जहाजको स्पिड कन्ट्रोल हुन सकेन । जहाज अन्तर्राष्ट्रिय जहाज पार्किङ क्षेत्रतर्फको पूर्वतिरको चौरमा पुगेर दुर्घटना भयो । अन्नपूर्ण पोस्टमा खबर छ |

६ बर्ष अगाडि

प्रतिक्रिया