अहिलेभन्दा आधा सस्तोमा हाई स्पिड इन्टरनेट ल्याउँदै चौधरी ग्रुप

आइतबार, ०९ जेठ २०७८, ०७ : २४

काठमाडौं । अहिले इन्टरनेटको शुल्क महंगो र शुल्क अनुसारको स्पीड (गति) नभएको धेरैको गुनासो छ । तर यो गुनासो अब धेरै समय नरहने भएको छ । जनताको यहि समस्यालाई समाधान गर्र्न चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्रसम्म हाई स्पिड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । 
टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको कार्यक्रममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिलेभन्दा आधाजसो सस्तोमा इन्टरनेट सेवा दिने तयारी भएको बताए । 
‘अहिले इन्टरनेट सेवाप्रदायकहरुको मूल्य निकै धेरै छ । त्यसैले नै त्यसको पेनिट्रेसन निकै कम देखिन्छ । हामी त्यस किसिमको ग्यापलाई पुरा गर्नका लागि इन्टरनेट सेवाप्रदायक सार्वजनिक गर्दैछौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हामीले दिने इन्टरनेट अहिलेभन्दा आधाजसो सस्तो हुनेछ ।’

उनले अहिले पूर्वाधान निर्माणको काम भइरहेकोले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिए ।

‘हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफटीटीएच तथा इन्टरनेट सेवाप्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्यमा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याकबोन पूर्वाधार पनि तयार भइरहेको छ । त्यसबाट  घरघरमा हामी एफटीटीएच सेवा उपलब्ध गराउने छौं ।’

नेपालभर गाउँ गाउँमा अनि घरघरमा यो सेवा पुर्‍याउने सुनिश्चितता दिलाउन चाहेको उल्लेख गर्दै चौधरीले चर्को प्रतिस्पर्धाबीच नयाँ प्रविधिको स्वाद नेपाली जनतालाई दिन चाहेको बताए । ‘यदि हामी डिजिटल अर्थतन्त्र चाहन्छौं र वास्तवमै आर्थिक विकास खोजिरहेका छौं भने त्यसका लागि डिजिटल पूर्वाधार र सेवाको मूल्यको भूमिका निकै धेरै महत्वपूर्ण हुन्छ,’उनले भने । 

आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्वस्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्तविक स्वाद काममै निर्भर हुन्छ ।’

अरु टेलिकम कम्पनीले लाइसेन्स पाएर पनि काम गर्न नसकेको भन्दै उनले निश्चित शर्त तोकेर आफूहरुलाई हामीलाई लाइसेन्स दिए दूरसञ्चार क्षेत्रमा देखिएको मोनोपोली तथा डुओपोलीको अवस्थालाई भत्काउने बताए । ‘हामीलाई लाइसेन्स दिनुहोस्, हामी गरेर देखाउँछौं,’ उनले भने ।
 

आइतबार, ०९ जेठ २०७८, ०७ : २४

प्रतिक्रिया