वैदेशिक रोजगारको प्रमुख गन्तव्य चार देशले लगाए नेपालीलाई प्रवेशमा रोक, कुन-कुन ?

बुधबार, १२ जेठ २०७८, १४ : ५२

काठमाडौं - पछिल्लो समय नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि सरकारले यसको रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यो सँगै नेपालबाट वैदेशिक रोजगारीमा जान पनि बन्द भएको छ । यस्तै केही गन्तव्य देशले पनि नेपालबाट हुने उडानहरूमा प्रतिबन्ध लगाएका छन् । 

नेपालीहरूको वैदेशिक गन्तव्यको प्रमुख मुलुक बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे देखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । 

तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरूमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको  र कोरोना सङ्क्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् । 

कुवेतले पनि नेपालसँगको व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतले भने प्रवेश गर्न पाउनेछन् । स्वास्थ्यका मापदण्ड भने पालना गर्न पर्नेछ ।

यूएईले पनि वैशाख २९ गतेदेखि नै नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नेपाली नागरिकसहित बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कूटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् ।  

मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलङ्काका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।

निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

बुधबार, १२ जेठ २०७८, १४ : ५२

प्रतिक्रिया