निषेधाज्ञामा बेरोजगार बन्नेको क्रम बढ्दो, ३६ लाख ५० हजार मानिस बेरोजगारी

विहीबार, १३ जेठ २०७८, ०७ : ५३

काठमाडौं - कोरोना महामारीका कारण ३६ लाख ५० हजार मानिस बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाएको १ महीना पुग्दै छ । यस अवधिमा बेरोजगार बन्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । जिफन्टमा हालसम्म विभिन्न क्षेत्रका गरी उक्त सङ्ख्यामा मजदूरहरू बेरोजगार भएको सर्वेक्षणले देखाएको बताइएको छ ।

होटेल, यातायात, उद्योग प्रतिष्ठानलगायत १९ ओटा क्षेत्रमा रहेका विभिन्न ट्रेड युनियनबाट ६० जिल्लाका साथै नगरहरूमा सर्वेक्षण गरिएको थियो । 

सोही सर्वेक्षणअनुसार जिफन्टले पर्यटन (होटेल, ट्राभललगायत) क्षेत्रमा ९ लाख, यातायात क्षेत्रमा कार्यरत झन्डै साढे ११ लाखमध्ये साढे ८ लाखले रोजगारी गुमाएका छन् । यो क्षेत्रका एम्बुलेन्स, खाद्यन्न ढुवानी गर्ने सवारीलगायत केही भने सञ्चालनमा छन् । 

यसैगरी निर्माण क्षेत्रका २५ लाख श्रमिकमध्ये ५० प्रतिशत बेरोजगार भएका छन् । निषेधाज्ञा भए पनि कतिपय राष्ट्रिय गौरवका आयोजनाहरूमा काम भइरहेको, आयोजनामै आइसोलेशन सेन्टर बनाएर निर्माणका काम भइरहेको बताइएको छ । 
 

विहीबार, १३ जेठ २०७८, ०७ : ५३

प्रतिक्रिया