काठमाडौं - कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् ।
जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमा ३० हजार लिटर जिल्लामै खपत हुने र १० हजार लिटर काठमाडौ जाने गरेको किसान शिव थापाको भनाइ छ ।
यहाँको दूध खपत डडेल्धुरा र डोटीबाट समेत कैलालीमा पनि निर्यात हुन्छ । अत्तरियामा रहेको दूग्ध चिस्यान केन्द्रले कैलालीको बचेको र डडेल्धुरा र डोटीबाट आयात गरिएको दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्ने गर्दछ ।
यस वर्ष घाँस उत्पादनमा समेत हस आएकाले उत्पादन समेत घटेको किसानको गुनासो छ । किसानले दूध खपत नभएपछि पाडापाडीलाई बढी खुवाउने, घरमै खपत गर्ने वा घ्यू उत्पादन गर्ने जस्ता कार्य गरिरहेको थापा बताउँछन् ।
विगतका वर्षमा गर्मी समयमा दुग्धजन्य पदार्थको अभाव हुन्थ्यो । यो समय दूध बढी खपत हुने समय हो । यस वर्ष बजारमा मानिसको चहलपहल घटेसँगै उनीहरुको व्यापार पनि घटेको हो । दूध तथा दुग्धजन्य पदार्थको माग घट्दा गाई, भैँसीपालक किसानदेखि व्यापारीहरु मर्कामा परेका गुनासो बढेको छ ।
बन्दाबन्दीअघि दैनिक १३० लिटरसम्म दूध सङ्कलन गर्दै आइरहेको टीकापुर–१ वनगाउँको देउराली भन्ज्याङ सहकारीले अहिले ७० लिटरसम्म मात्र दूध सङ्कलन गरिरहेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरिया सहकारीमा दूध खपत घटेकाले सहकारीले सङ्कलन कार्य समेत घटाएको बताए ।
गाउँका किसानबाट दूध सङ्कलन गरी बजारमा बेच्दै आउनु भएका टीकापुर–३ चौतारा टोलका कलम विकले लकडाउनअघि दैनिक ८० लिटर दूध बजारमा बिक्री गर्दै आएका थिए । हाल उनले पनि आधा दूध मात्र खपत भइरहेको बताए ।
सहकारी र सङ्कलकले दूध लिन छोडेपछि भैँसीपालक किसान मर्कामा परेका हुन् । घरमा पालेका भैँसीको दूध बेचेर घर खर्च चलाइरहेका किसानलाई दूध बिक्री हुन छोडेपछि समस्या भएको हो । भैँसीपालक किसान खेमा विकको घर दूध बेचेरै चल्छ ।
प्रतिक्रिया