परिवर्तनकारी शक्तिलाई असफल पार्ने षड्यन्त्र भयो : प्रचण्ड

६ बर्ष अगाडि

काठमाडौैं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकृयावादीहरुले परिवर्तनकारी शक्तिलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । 

बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिकृयावादीहरुले रचेको षड्यन्त्र असफल पार्न सबै शक्ति एक हुनुपर्ने बताए । 
उनले जनप्रतिनिधिहरुलाई जनताको भावना अनुसार त्यो षड्यन्त्र चिर्न सकारात्मक पहल गर्न निर्देशन दिए । 

बाम गठबन्धनको नेतृत्वमा सरकार गठन भएपछि जनताका प्रतिनिधिमाथि आक्रमण शुरु भएको भन्दै उक्त आक्रमण जनताद्धारा बहिस्कृत शक्तिहरुले गरेको प्रचण्डले बताए । 

‘धमिलो पानीमा माछा मार्ने काम भइरहेको छ , दुष्प्रचारको क्याम्पियन भइरहेको छ । गोली चलेको छ, बोक्सी र बलात्कारका घट्ना यति नै बेला किन भएका छन् ? यो बुझ्न जरुरी छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘राष्ट्र नयाँ एकताबाट अघि बढेको छ । राष्ट्र एकढिक्का भएर अघि बढेको कुरा प्रधानमन्त्रीले पाएको दुईतिहाइको समर्थनबाट बुझ्न सकिन्छ । तर पनि यहिबेला सरकारमाथि किन चौतर्फि आक्रमण भएको छ भनेर बुझ्दै हामी त्यसको प्रतिकारमा लाग्नुपर्छ ।’ 

प्रचण्डले एमाले माओवादी एकता गर्ने कुरा चलेदेखि नै नेपालको राजनीतिमा राजनीतिक भूकम्प गएको भन्दै त्यो भूकम्पको धक्का अहिले पनि कायमै रहेको बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो । 
 

 

६ बर्ष अगाडि

प्रतिक्रिया