घरायसी विद्युतीय सामाग्रीको भन्सार महशुल १ देखि १० प्रतिशत सम्म घट्यो

बुधबार, १९ जेठ २०७८, ११ : २७

देशमा विद्युत उत्पादन बढ्दै गएको भन्दै सरकारले विद्युतीय सामाग्रीको भन्सार घटाएको छ । आर्थिक अध्यादेश २०७८ ले झण्डै दुई दर्जन विद्युतीय सामग्रीमा भन्सार घटाइएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न विद्युतीय सामग्रीको भन्सार घटाएको हो । दैनिक उपयोग हुने विद्युतीय सामग्रीको भन्सार घटाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । दैनिक रूपमा प्रयोग हुने वस्तुको भन्सार घटाउँदा सस्तो हुने र खपत बढ्ने अर्थमन्त्री पौडेलले बताए ।


सरकारले आर्थिक अध्यादेशमार्फत विद्युतीय पंखा र पार्टपुर्जाको भन्सार १० प्रतिशत बनाएको छ । यो पहिलेको भन्दा ५ प्रतिशत घटाएको हो । यसअघि यी सामग्रीको भन्सार १५ प्रतिशत थियो । यसैगरी, रेफ्रिजेरेटर तथा फ्रिजको पनि ५ प्रतिशत भन्सार घटाइएको छ । यसअघि यी वस्तुको भन्सार २० प्रतिशत थियो ।


डिसवासिङ मेसिनको पनि १० प्रतिशत भन्सार घटाइएको छ । यसअघि ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने थियो । मिक्सर, ग्राइन्डर तथा जुसरको भन्सार पनि १५ बाट १० प्रतिशतमा झारिएको छ । अर्थ मन्त्रालयले पानी तताउने मेसिन, कपाल सुकाउने मेसिन, आइरन, माइक्रोवेव ओभनको भन्सार १५ बाट १० प्रतिशतमा झारेको छ ।

इन्डक्सन चुलोको भन्सार पनि ५ बाट १ प्रतिशतमा झारिएको छ । राइसकुकर, पानी तताउने केट्ली, कफी तथा चिया बनाउने मेसिन, टोस्टारलागयतका सामग्रीको पनि १५ बाट १० प्रतिशतमा झारिएको छ ।

बुधबार, १९ जेठ २०७८, ११ : २७

प्रतिक्रिया