काठमाडौं । बलिउड अभिनेत्री जुही चावला फाइभजी प्रविधि विरुद्ध कोर्ट पुगेकी छिन् । जुही चावलाको साथमा अन्य दुई निवेदक हिरेस मलिक र टिना वात्सानीले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिनुपर्ने माग गर्दै दिल्ली हाइ कोर्ट पुगेका हुन ।
उनीहरुले त्यस किसिमको जाँचमा कुनै पनि निजी कम्पनी वा व्यक्तिको प्रभाव हुन नहुने माग समेत राखेका छन् । जुही चावला, हिरेस मलिक र टिना वात्सानीका वकिल दीपक घोसलाले यस्ता प्रविधिबाट गम्भीर खतरा रहेको बताए । ‘सरकारले यो प्रविधिबाट कुनै पनि खतरा नरहेको पुष्टी नगरेसम्मका लागि यसमाथि रोक लगाउनुपर्ने हाम्रो माग छ ।’ जुही चावला भारत बाहिर केप टाउन सहरमा छिन् ।
मोबाइल टावरको विकीरणको विषयलाई लिएर जुही चावलाको चिन्ता दश वर्ष अघि देखिकै हो । सन् २०११ को रिपोर्ट अनुसार मालावार हिल निवासी जुही चावला आफ्नो घरबाट ४० मिटर टाढा रहेको सहयाद्री गेस्टहाउसमा राखिएका १६ मोबाइल टावरबाट मानव स्वास्थ्यमा हुने असरलाई लिएर चिन्तित थिइन् ।
नेपालमा र भारतमा पनि फाइभजी परीक्षणको तयारी चलिरहेको छ । फाइभजीमा इन्टरनेट स्पिड निकै फास्ट हुन्छ । यसलाई दूरसञ्चार प्रविधिमा क्रान्तिकारी मानिएको छ । किन कि यसबाट टेलि सर्जरी, आर्टिफिसियल इन्टेलिजेन्स, ड्राइभर बिनाका कार जस्ता प्रविधिलाई थप विकसित तुल्याउन सहयोग पुग्नेछ ।
तर विश्वका कतिपय भागमा फाइभजीको आधारभूत सेवाका कारण रेडियो विकिरण उत्सर्जन बढ्ने चिन्ता छ । जसबाट क्यान्सर जस्ता रोग लाग्न सक्छन् । रिटमा फाइभजीबाट हुनसक्ने सम्भावित खतराको जिकिर गरिएको छ ।
प्रतिक्रिया