२०२२ सम्ममा बेरोजगारीको संख्या २० करोड ५० लाख पुग्ने, कोरोनाका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले गुमाए रोजगारी

शुक्रबार, २१ जेठ २०७८, ०७ : ३७

काठमाडौं - विश्वमा रोजगारीको संख्या २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय श्रमिक संगठन ९आईएलओका अनुसार कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएका छन् । 
 
आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेको थियो । अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको हो । 

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ । जुन संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।
 
सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।
 
गरिब देशहरूमा जारी असमानताका कारण महिला र युवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ । गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशहरूको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ ।
 
त्यसैगरी संयुक्त राष्ट्रसंघले महामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ ।   
 

 

शुक्रबार, २१ जेठ २०७८, ०७ : ३७

प्रतिक्रिया