काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृतिका लागि आवतजावतको समस्या रहेका व्यवसायीहरुलाई विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
शुक्रबार वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचल श्रम स्वीकृतिका लागि खुला रहने जानकारी गराउँदै संघले आवतजावत गर्न पास आवश्यक भएमा ब्यबसायीहरुलाई संघको इमेलमार्फत सम्पर्क गरी पास लिन आग्रह गरेको छ ।
आगामी जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको सरकारले बिहीबारबाट आवागमनमा थप कडाइ गरेको छ । निषेधाज्ञा अवधिमा पनि वैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । निषेधाज्ञा ३३ दिनको अवधिमा करिब पाँच हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
अति जरुरी परी कार्यालयसम्म आउन सक्नेलाई कार्यालय खोलेर पनि श्रम स्वीकृति दिने काम भइरहेको र निषेधाज्ञा अवधिभर सेवा जारी रहने पनि बताइएकोे छ । कोरोना भाइरसको दोश्रो लहर बढेपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो भने २३ गते मध्य रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो ।
सरकारले हाल नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडानको अनुमति दिएको छ । तर ठूलो संख्यामा नेपाली कामदार रहेका खाडी तथा मलेसियाबाट हुने उडानले अनुमति पाएका छैनन् ।
प्रतिक्रिया