काठमाडौं । केही महिनादेखि अमेजनको ३०औं वार्षिकोत्सवमा निस्शुल्क उपहार दिनेभन्दै ‘स्क्याम’ म्यासेज सामाजिक सञ्जालमा फैलिरहेको छ । नेपालमा पनि फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता यस्तो स्क्यामबाट पीडित भएका छन् ।
अमेजनको ३०औं वार्षिकोत्सवमा निस्शुल्क उपहारहरु पाउने सर्वेक्षणमा हुन अनुरोधसहित प्रयोगकर्ताले लिंकसहितको म्यासेज पाउँछन् । म्यासेजको लिङ्क खोलेर झट्ट हेर्दा अमेजनकै आधिकारिक वेबसाइटजस्तो देखिन्छ । वास्तवमा त्यो वेबसाइट अमेजनको होइन ।
म्यासेज खोलिसकेपछि त्यहाँ केही व्यक्तिसंग सम्बन्धित विवरण र तपाईं आईफोन अथवा एन्ड्रोइड कस्तो प्रकारको युजर हो भनेर पनि सोधिन्छ ।
उत्तरहरु दिइसकेपछि गिफ्ट बक्सको चित्र देखाइन्छ । बक्समा क्लिक गर्न लगाइन्छ र उपहार देखाइन्छ । त्यसपछि तपाईंलाई यस किसिमको प्रश्नोत्तर अरू साथीलाई पठाउन लगाइन्छ ।
त्यसपछि उनीहरुलाई एप डाउनलोड गर्न र आफ्नो ठेगाना राख्न लगाइन्छ । अनि उक्त उपहार ५(७ दिनभित्र डेलिभर गर्ने जनाइन्छ । यस्ता वेबसाइटहरुमा आफूसँग सम्बन्धित कुनै सूचना अथवा जानकारी दिनु आफ्नै लागि जोखिमपूर्ण हुन्छ ।
उल्लेख भएका एपहरु डाउनलोड गर्न लगाएर तपाईं वित्तीय विवरणसम्म पहुँच पुर्याउने अथवा लिङ्कमार्फत मालवेयर इन्स्टल गरिदिन सक्छन । त्यस्तै यही स्क्यामकै कारण सयौं प्रयोगकर्ताले सामाजिक सञ्जाल अकाउन्ट ब्लक भइरहेको प्रतिक्रिया दिइरहेका छन् ।
सुरक्षाका लागि त्यस्ता म्यासेज प्राप्त गर्नासाथ म्यासेज क्लिक नगरी डिलिट गर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।
प्रतिक्रिया