बढ्यो अलैंचीको भाउ, ४० हजार पुग्ने अनुमान

२ बर्ष अगाडि

काठमाडौं - विगत केही वर्षदेखि अलैंचीको मूल्य यस वर्ष सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंचीले प्रतिमन २३ हजार रुपैयाँसम्म मूल्य पुगेको थियोे । 

कोरोना महामारीले मूल्य नपाउने डरले किसानले धमाधम अलैंची बिक्री गर्न थालेका थिए । तर, निषेधाज्ञा सुरु भएसँगै अलैंचीको भाउ ह्वात्तै बढ्यो । 

हिजोआज अलैंची ३५ हजार रुपैयाँसम्म कारोबार भइरहेको झापा बिर्तामोडका अलैंची निर्यातकर्ता ओमकृष्ण बिमलीले बताए । निषेधाज्ञायता अलैंचीको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ वृद्धि भएको छ ।

केही दिनभित्रै अलैंचीको मूल्य ४० हजार रुपैयाँसम्म पुग्ने व्यापारीको अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन । भारतमा अलैंचीको फसल मरेकाले, नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको व्यापारीको भनाइ छ ।

चालू आर्थिक वर्षको १० महिनामा ६ अर्ब रुपैयाँबराबरको अलैंची निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाउँछ । मूल्य वृद्धिलाई स्थिर राख्न सके यस वर्ष ७ अर्ब ५० करोड बढीको अलैंची निर्यात गर्न सकिने अलैंची व्यवसायी महासंघले जनाएको छ ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार बराबरको ७५ लाख ५० हजार ३ सय ९७ केजी अलैंची निर्यात भएको छ । 

जुन अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी हो । अघिल्लो आवको १० महिनाको अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजारबराबरको ४१ लाख ६१ हजार ९ सय ३ केजी निर्यात भएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया