घ्यू तथा खाने तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि

मंगलबार, ०१ असार २०७८, ०७ : ४३

चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पघिल्लो  १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको हो  ।

२०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको बैंकले जनाएको छ।

थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।
 

मंगलबार, ०१ असार २०७८, ०७ : ४३

प्रतिक्रिया