काठमाडौं - नेपाली कामदार लिने प्रमुख देशहरुले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य गर्न थालेका छन् ।
उनीहरुले खोप नलगाएको विदेशीलाई प्रवेशमा कडाइ गर्ने नीतिसमेत लिएका छन् । साउदी अरबले आफ्नो मुलुक प्रवेश गर्ने विदेशीले फाइजर बायोनटेक वा अक्सफोर्ड अष्ट्राजेनेका र मोडेर्नाको दुई डोज वा जोन्सन एण्ड जोन्सनको एक डोज खोप लगाएको हुनुपर्ने नीति सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै साउदी सिभिल एभिएसन अथोरिटीले खोप नलगाएका विदेशी यात्रु आफ्नै खर्चमा संस्थागत क्वारेन्टिनमा बस्नु पर्ने र टिकट काट्दा नै संस्थागत क्वारेन्टिन र स्वास्थ्य बीमा वापतको रकम टिकटमा समावेश गरेर लिन ट्रभाल एजेन्सीहरुलाई निर्देशन दिएको छ ।
अर्को खाडी मुलुक कुवेतले मेडार्नाको दुई वा फाइजरको एक डोज लगाएको विदेशीलाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा प्रवेश दिने र क्वारेन्टिन बसेको एक हप्तापछि पीसीआर परीक्षण गर्ने मापदण्ड बनाएको छ ।
यता मलेसियाले ‘कोभिड भ्याक्सिनेशन’ पासपोर्ट प्रयोगमा ल्याउने बताएको छ । आफ्नो देशमा यात्रा गर्ने विदेशी यात्रु, राष्ट्रियस्तर तथा अन्तरजिल्ला आवागमनका लागि पनि कोभिड भ्याक्सिनेशन पासपोर्ट अनिवार्य गरिने जनाइएको छ ।
नेपालले खोप लगाउने प्राथमिकता जेष्ठ नागरिक, फ्रन्टलाईनका संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, राजनितिक दलका नेता तोकेको छ । त्यसबाहेक सत्तामा पहुँच राख्ने नेता कार्यकर्ता र आसेपासेहरुले खोप लगाएका छन् ।
तर आर्थिक गतिविधिका प्रमुख वाहककका रुपमा रहेका मजदुरहरुले खोपमा पहुँच पाउन सकेका छैनन् ।
प्रतिक्रिया